भाइरल अर्जुन विक बलात्कार आरोपमा पक्राउ, छोडेर गएकी भनिएकी श्रीमतीले गरिन् मद्दा


बच्चा बोकेर रिक्सा चलाउँदै भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् । उनलाई कैलाली प्रहरीले शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

उनलाई काठमाडौं प्रहरीसँग समन्वय गरी तिनकुनेबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनीविरुद्ध उनका श्रीमतीले नै आरोप लगाउँदै यहि साउन ३० गते कैलाली प्रहरीमा जाहेरी दिएकी थिईन् ।

कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक विरुद्ध श्रीमतीले चारवर्षसम्म कोठामा राखी डर, धाक धम्की दिई जबरजस्ती करणी समेत गरी त्यसपछि भागि फरार रहेको जाहेरीमा उल्लेख गरेकी थिईन् । कैलालीकै भजनी नगरपालिका–४ बाट १७ वर्षीया श्रीमतीले २०७३ जेठदेखि २०७७ साउन १५ गतेसम्म उनीहरु काठमाडौंस्थित देविनगरमा डेरामासँगै बस्दै आएका थिए ।

जाहेरी प्राप्त भएपछि कैलाली प्रहरीले अर्जुनविरुद्ध शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई खोजतलास थालेको थियो ।

बिकलाई अहिले कैलाली प्रहरीको हिरासतमा राखेको छ । उनी विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

बच्चा बोक्दै रिक्सा चलाएको दृश्यले उनलाई भाइरल बनाएको थियो । यसबिचमा उनले म्युजिक भिडियो समेत खेल्न भ्याए । उनी भाइरल भएपछि उनका श्रीमती उनको विरुद्धमा बाहिर आएका थिईन् ।


प्रकाशित : २०७७ माघ १३, मंगलवार १८:०० गते

धेरै पढिएको

ताजा समाचार