भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गरेका छन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उनले भने ।
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताए ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अबको एक हप्ताभित्रै सुरु गरिने छ। भारतले अनुदान दिएको १० लाख डोज खोप नेपाल भित्रिएसँगै नेपालमा अबको एक हप्ताभित्रमै खोप सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
प्रवक्ता डा। गौतमका अनुसार अनुदानका रुपमा प्राप्त भएको खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएकालाई दिइने छ।


