होइन, होइन, मैले पूरा परिवारको कुरा गरेको होइन। मैले त अरनिकोको श्रीमतीको पो कुरा गरेको,’ साढे आठ वर्षकी चिनियाँ बालिका हन चिया छनले प्रतिवाद गरिन्।
उनलाई रविनाले चिनियाँ भाषामा सम्झाइन्, ‘हामीले पनि अरनिकोकै श्रीमतीको कुरा गरेको। उनका ११ जना श्रीमती थिए। त्यसमध्ये पहिलो चाहिँ नेपाली थिइन्, बाँकी दस जना चिनियाँ।’
‘एघार जना श्रीमती!,’ बालिकाले आश्चर्यभाव व्यक्त गर्दै हत्केलाले आफ्नो अनुहार छोपिन्।
चिनियाँहरू लजाउँदा ठ्याक्कै नेपाली जस्तै गरी भाव व्यक्त गर्छन्। त्यही संस्कार उनले पनि व्यक्त गरिन्। उनको अनुहार रातोपिरो भएको थियो।
तुरून्तै सम्हालिएर भनिन्, ‘माफ गर्नुहोला। मलाई यसबारे थाहा थिएन। तपाईंहरू नेपाली भएकाले स्पष्ट पारिदिनुभयो। अब आउने अरू पर्यटकलाई यो कुरा सुनाउँछु।’
गुलाबी रङको जुत्ता र सेतो मोजासँगै सेतो भुइँमा बुट्टा भएको जामा लगाएकी हन चिया छनले बाहुला बिनाको निलो रङको ज्याकेट लगाएकी थिइन्। ज्याकेटमा प्रिन्ट गरिएको लोगोबाट उनी स्वयंसेवक हुन् भन्ने कुरा झल्किन्थ्यो। लोगोमा ‘बिभिएफ’ लेखिएको थियो। यसको अर्थ ‘बेइजिङ भोलेन्टियर फेडेरेसन’ हुन्छ। उनको शरीरमा हंलङ्ग झुन्डिएको ज्याकेटले भनिरहेको थियो, संस्थाले बनाएको ज्याकेट उनी जस्ता बालिकाका लागि मिल्दो आकारको थिएन।
कक्षा दुईको वार्षिक परीक्षा दिएर गर्मी बिदामा आफ्नी आमासँग उनी अरनिकोले बनाएको श्वेतचैत्यमा पुगेकी थिइन्। बिदा अवधिभर त्यहाँ घुम्न जाने चिनियाँ तथा विदेशी पर्यटकलाई अरनिकोका बारेमा व्याख्या गर्न थालेको उनले सुनाइन्।
अरनिकोको जीवनीसँगै त्यहाँ राखिएका काठमाडौं, पोखरा र लुम्बिनीका चित्र हेरेर उनी नेपालका बारेमा आफूले जानेको कुरा बताउँदै थिइन्।
गत असार २२ गते शनिबार बेइजिङको केन्द्र भागमा रहेको अरनिको निर्मित श्वेतचैत्य अवलोकनमा हामी पुगेका थियौं। त्यही दिन श्वेतचैत्यको प्रदर्शनी कक्षमा भेट भएकी थिइन् ती चिनियाँ बालिका। परिचय गर्ने क्रममा उनले आफ्नो नाम हन चिया छन भएको बताइन्।
नेपालबाट मित्रहरू डा. विनोद मञ्जन र उहाँकी श्रीमती गायत्री विष्ट आफ्नी छोरी विज्ञताको दीक्षान्त समारोहमा भाग लिन चीनको पल्लो शान्षी प्रान्तको सिआन आएका थिए। त्यही मौकामा बेइजिङमा मेरा पाहुना बन्न आइपुगेका उनीहरूलाई घुमाउने क्रममा शकुन्तला राई र रविना राई पनि मिसिन आइपुगे।
चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गर्ने सोलुखुम्बुका चेलीहरू शकुन्तला र रविना पनि हामीसँगै ग्रेटवाल गएर फर्केका थिए। रविना र शकुन्तलालाई चिनियाँ भाषा फरर्र बोल्न आउने भएकाले हामीलाई बेइजिङ घुम्न थप सहज भएको थियो।
बेइजिङमा जुलाई महिनाको उखरमाउलो गर्मी, त्यसमाथि मध्य दिउँसोको उखपट्टे घामबाट असिनपसिन हुँदै ग्रेटवालबाट फर्किँदै थियौं हामी। बेइजिङबाट ६० किलोमिटर उत्तरमा रहेको चोयुङक्वाङ ग्रेटवाल जाँदा सार्वजनिक बसमा गएका थियौं। फर्किँदा एउटा कार फेला पर्यो। केहीबेरको मोलमोलाइपछि हामी कारमा फर्किने भयौं। तालु पोल्ने गर्मीमा बसको यात्राभन्दा कारमै पाँच जना खाँदिएर ग्रेटवालबाट बेइजिङको केन्द्र भागतिर फर्किने निधो हामीले गरेका थियौं। तर कार चालक परेछन् चीनको पूर्वउत्तर हैलुङचाङ प्रान्तका। उनलाई बेइजिङका बारेमा उति जानकारी रहेनछ।
ग्रेटवालबाट फर्किँदा हाम्रो लक्ष्य थियो महान नेपाली कलाकार अरनिकोले निर्माण गरेको श्वेतचैत्यको रहेको स्थल। बेइजिङको दोस्रो चक्रपथको उत्तरपश्चिमी क्षेत्र फुछङमन भित्रपट्टि रहेको श्वेतचैत्यका बारेमा मैले कसै गरे पनि चालकलाई बुझाउन सकिनँ। शकुन्तलाले चिनियाँ भाषामा भनिन्, तैपनि चालक अलमलिएर ‘मलाई थाहा छैन’ भन्ने भाव व्यक्त गरिरह्यो। मैले मोबाइलमा लोकेसन खोलेर चालकलाई दिएँ। उसले मेरै मोबाइलको जिपिएसबाट कार चलाउँदै श्वेतचैत्य अगाडि ल्याइपुर्यायो।
श्वेतचैत्यभित्र प्रवेश गरेपछि त्यहाँको भव्य बिहार अनि बौद्धमूर्तिसँगै छतमा खोपिएका रञ्जना लिपिका बौद्ध मन्त्र ‘ओम मानेपेमे हु’ हेर्दै हामीले अरनिकोको शालिकसँग केहीबेर संवाद गर्यौं। शिलालेखमा नेपाली भाषामै लेखिएको अरनिकोको परिचय सस्वर वाचन गर्यौं। श्वेतचैत्यलाई दाहिने बनाएर एक फन्को परिक्रमा गरेपछि फर्किने क्रममा पूर्वतिरको हलमा प्रदर्शित अरनिकोको जीवनी दर्शाउने चित्रकथा अवलोकन गर्दा भेट भएको थियो चिनियाँ बालिका हान चिया छनसँग।
उक्त प्रदर्शनी कक्षमा चित्रकथाका रूपमा अरनिकोको जीवनी समेटिएको छ। अरनिकोले बाल्यकालदेखि नै मूर्ति र चित्र बनाउन सिकेको, १६ वर्षे किशोरावस्थामा तिब्बत गएको, चीनको राजधानी गएर तत्कालीन सम्राट कुब्लाई खाँसँग भेट गरेको, चीनमा विशाल सांस्कृतिक सम्पदा निर्माण गर्ने क्रममा श्वेतचैत्य बनाएको आदि कुराहरू चित्रकथामा समेटिएको छ।
अरनिकोको जीवनचित्रको व्याख्या गर्दा स्वतः नेपाली भूगोल र संस्कृति आउने भयो। अनि मृत्यु हुने समयमा उनकी श्रीमती उनीसँगै रहेको कुराको व्याख्या गर्दा श्रीमतीको प्रसंग आएको थियो। ती चिनियाँ बालिकालाई अरनिकोले ११ जनासँग बिहे गरेका थिए भन्ने चाहिँ थाहा रहेनछ।
छोरीमा नेतृत्व विकास, स्वयंसेवा, मानिसहरूसँग घुलमिलसँगै सामाजिक भावना, वाकपटुता र सञ्चारको विकास होस् भनेर हान चिया छनकी आमाले त्यस्तो कार्यमा सहभागी गराएकी रहिछन्। ती बालिकाले अचम्मसँग नेपालको व्याख्या गरिन्। अरनिकोबारे त उनी जानकार नै थिइन् होला। किनभने श्वेतचैत्यमा आउने पर्यटकलाई व्याख्या गर्ने अभ्यासका लागि उनले अरनिकोबारे पक्कै पनि खोजबिन गरेको हुन सक्छ। त्यसमा अरनिकोका ११ श्रीमती थिए भन्ने कुरा उनलाई थाहा नहुनु स्वाभाविक हो। SETOPATI