काठमाडौं– टेलिसिरियल ‘सक्किगोनी’ टिमले फिल्म ‘लाज शरणम्’ घोषणा गरेको छ । कमलपोखरीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी फिल्ममा कुमार कट्टेल ‘जिग्री’को लेखन र निर्देशन रहने जानकारी दिइएको हो ।
सिरियलका मुख्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’ र कमणमणि नेपाल ‘खुपीका बाउ’ मुख्य भूमिकामा रहेको बताइएको छ । यस बाहेक यही फिल्ममार्फत वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ १२ वर्षपछि अभिनयमा फर्कंदैछन् ।
श्रेष्ठसहित नायक विजय बराल र नायिका माला लिम्बू ‘सक्किगोनी’ टिम बाहिरबाट अनुबन्ध भएको जानकारी दिइएको थियो । तर, सक्किगोनीमा मुख्य कलाकार हरिश निरौला ‘कक्रोच’ कार्यक्रममा अनुपस्थित थिए । अहिलेसम्मको अवस्थामा फिल्ममा उनको भूमिका नरहेको बताइएको छ ।
स्रोतका अनुसार कक्रोचका लागि तय भएको भूमिका विजय बरालले गर्ने भएका हुन् । त्यसपछि स्क्रिप्टमा उनको भूमिका छैन
कक्रोच आजको कार्यक्रममा अनुपस्थित भएकाले टिममा मनमुटाव भएको भन्ने शङ्का पैदा गर्छ । तर यो संयोग मात्रै भएको स्रोतको दाबी छ । उनी अनुपस्थित रहनुको कारण कार्यव्यस्तता नै रहेको स्रोत बताउँछ ।