जनताका गुनासा सम्बोधन गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् ।

जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी काम कारबाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रूपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।


प्रकाशित : २०८१ श्रावण २०, आईतवार १६:३४ गते

धेरै पढिएको

ताजा समाचार