प्रधानमन्त्री देउवालाई विश्वासको मत, के एमाले फुट्‍ला या एकिकृत होला ?


आइतवार प्रतिनिधिसभामा देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भए।

देउवालाई मत दिनेमा ओलीको पक्षधर मानिएका र ओली मन्त्रिपरिषद्‌मा सदस्य रहेका व्यक्ति पनि छन्।

विश्वासको मत प्रकरणपछि अब एमाले ‘एक ढिक्का रहन्छ कि फुट्छ’ भन्ने प्रश्नमा ओलीपक्षीय नेताहरूले “देउवालाई मत दिनेहरू एमालेमा नरहने तर पार्टी एकता कामय रहने” बताएका छन्।

यद्यपि माधव नेपाल पक्षका नेताहरू “देउवालाई मत दिनेहरू पनि पार्टीमै रहने र एकता पनि कायम हुने” दाबी गर्छन्।

ओलीपक्षीय एमाले नेता ईश्वर पोखरेले विश्वासको मत प्रकणपछि “पार्टी एकीकरणका लागि भइरहेका प्रयासमा तत्कालका लागि ब्रेक लागेको” बताएका छन्।

उनले भने, “…तर पनि यो एकता प्रक्रियासित अत्यन्त चिन्ताका साथ सहभागी रहेका साथीहरूसँग फेरि पनि छलफल जारी रहन्छ र पार्टीभित्रका आन्तरिक समस्या व्यवस्थित गर्ने मामिलामा हाम्रो प्रयत्न जारी रहन्छ।”

तर उनले देउवाको पक्षमा विश्वासको मत दिने व्यक्तिहरू “पार्टीमा नरहने” बताए।

“उहाँहरू अब पार्टीमा रहन सक्नुहुन्न। … पार्टीको निर्णयविपरीत गएर विपक्षी गठबन्धनका प्रतिनिधिलाई विश्वासको मत दिएर जुन गतिविधि गर्नु भएको छ, त्यो अराजनीतिक, अनैतिक काम हो। त्यो कामका कारणले उहाँहरू फेरि तत्काल पार्टी कमिटीमा रहने कुरा म देख्दिनँ।”

माधव नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि प्रयास जारी रहेको बताएका छन्।

उनले पार्टी एकता कामय राख्नका लागि नै एकताका लागि बनेको कार्यदलका सदस्य समेत रहेका व्यक्तिहरूले विश्वासको मतमा सहभागी नभएको बताए।

उनका भनाइमा देउवालाई विश्वासको मत दिएकै घटनाका कारण पार्टी फुट्ने सम्भावना छैन।

उनले भने, “हाम्रो एकताको प्रयास जारी छ। एकता जारी रहोस् भनेरै हामी कार्यदलका सदस्यहरू पनि रहेकाले कतै पनि भोट नहालेका हौँ।”

माधव नेपाल समूहकै सांसदहरूले देउवालाई मत दिएका कारण पार्टी फुट्छ कि भन्ने प्रश्नको उत्तरमा उनले भने, “… यसले हाम्रो पार्टी एकतालाई आजकै घटनाले तलमाथि पार्ला भन्ने मलाई लाग्दैन।”

उनले पार्टी एकता प्रयास जारी रहने बताए। RSS


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १३:१९ गते

धेरै पढिएको

ताजा समाचार