कोभिड संक्रमणको दोस्रो लहरका कारण बन्द गरिएको आन्तरिक नियमित उडान दुई महिनापछि आजबाट संचालनमा आएको छ।
दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ। आज बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि आधा घण्टाको फरकमा भइरहेको छ। पोखरातर्फको उडान भने अहिलेसम्म पनि हुन नकसेको वायुसेवा कम्पनीले जनाएका छन्।
लामो समयपछि नियमित उडान खुलेको भएपनि बिहीबार काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुको चाप भने त्यति धेरै नरहेको यतीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनका अनुसार अहिले उडान अवतरणमा ८० प्रतिशत अकुपेन्सी रहेको छ।
नागरिक उड्डयन प्राधिकरणले तयार पारेको उडान तालिका अनुसार आन्तरिक उडानमा बुध्द, श्री, यती, सौर्य, तारा, समिट लगायत वायुसेवा कम्पनीले दैनिक क्रमशः ३१, १५, ७, ३, १, २ वटा उडान गर्ने छन्।


