बैशाख १ गते पाँचथरमा चौथो चौरीं महोत्सव हुने


उच्चहिमाली क्षेत्रको वन, वातावरण जोगाउँदै फालोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यका साथ आगामी वैशाख १ गते चौथो चौंरी महोत्सव हुने भएको छ । परम्परागत चौंरी पालन हराउँदै गएकोमा फालेलुङ गाँउपालिकाअन्तर्गतका सिदीन, प्राङबुङ, मेमेङका चौंरी पालक कृषकको अगुवाइमा चौंरी महोत्सव हुँदै आएको हो ।

फालेलुङ गाउँपालिकाको सहयोगमा दिप ज्योति युवाक्लब, फालेलुङ कञ्चनजंघा पर्यटन संस्था लगायतको आयोजनामा महोत्सव हुन लागेको हो । अघिल्लो वर्ष कोभिड १९ का कारण यो महोत्सव हुन सकेको थिएन । फालेलुङ–४ स्थित फालोट एक दिने महोत्सव गर्ने तयारी गरिएको फालेलुङ गाउँपालिकाले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको फालोट, तीन सिमानामा नयाँ वर्षको अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो । फालोट क्षेत्र उच्च हिमाली क्षेत्र हो । नेपाल भारत सिमानमा पर्ने उक्त क्षेत्रमा चौंरी महोत्सव आयोजना हुन लागेको हो । दुई वर्ष अगाडीबाट सुरु भएको महोत्सवमा नेपाल, भारत र भुटानबाट पर्यटकहरु आउने गरेका छन्।

चौंरी महोत्सवमा पाँच सयभन्दा बढी चौंरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ । यस क्षेत्रमा २१ वटा चौंरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरी गोठहरु घट्दै गएका छन् ।

गोठमा चौंरी घट्ने क्रमसँगै चौंरी संस्कृति हराएकाले यसको संरक्षणका लागि महोत्सवको तयारी गरिएको दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल राईले जानकारी दिए । बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौंरी माहोत्सवमा आन्तरिक र बाह्य गरी १०–१५ हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।


प्रकाशित : २०७७ चैत्र ३१, मंगलवार ११:५५ गते

धेरै पढिएको

ताजा समाचार