कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेकाको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेको थियो ।
यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको एक सूचना जारी गरेर जानकारी दिइएको छ ।
पछिल्लो दिनमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । यस्तो समयमा शुल्क नउठ्दा भारतबाट इन्टरनेट खरिद गरेर ल्याएको शुलक तिर्न समस्या भएको गुनासो सेवा प्रदायकहरुले गर्दै आएका छन् । तर, उपभोक्ता भने घरभित्रै थुनिएकाले सेवा शुल्क भुक्तानीमा समस्या भोगिरहेका छन् ।


