काठमाडौं – बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर सिनेमा ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको थियो । सिनेमालाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि सिनेमाले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, सिनेमाले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ । भने, शनिबार २१ करोड ७८ लाख र आइतबार २६ लाखको व्यापार गर्दै सानदार सुरुवात गरेको छ ।
शुक्रबार मोर्निङ शोमा सिनेमाको सुरुवात केही कमजोर थियो तर दिउँसोबाट पिकअप लिएको थियो । सिनेमाले पहिलो विकेन्डमा ६५ लाख ९९ करोड भारु करोबार गर्न सफल भएको छ । सिनेमाले पहिलो हप्ताको अन्त्यसम्म सय करोडको आँकडा पार गर्ने ट्रेड एनालिस्टको विश्लेषण छ । ‘वर्ड अफ माउथ’ राम्रो भएकाले सिनेमा लामो रेसको घोडा बन्ने देखिन्छ ।
कमेडी ड्रामा ‘गुड न्यूज’ को कथा दुई जोडी (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ र कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ । त्यही कन्फ्यूजनको कथालाई कमेडीमा प्रस्तुत गरिएको छ ।
बक्सअफिसमा ‘गुड न्यूज’ सलमान खान अभिनीत सिनेमा ‘दबंग ३’को चेपुवामा छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको सिनेमाले पहिलो विकेन्डमा राम्रो कमाई गर्न सफल भएको छ । ‘गुड न्युज’ले सलमानको सिनेमाको व्यापारमा ठूलो असर गर्ने देखिन्छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन-प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ । जसको फाइदा राज मेहता निर्देशित सिनेमा ‘गुड न्युज’ले उठाइरहेको छ ।


