काठमाडौं – चितवन टाइगर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३९ रन बनायो । १८ रनमा पहिलो विकेट गुमाएको चितवनको २४ रन हुँदा तेस्रो विकेट झर्यो । उसका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । उसले ७५ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । पल स्टर्लिङ १४ रनमा आउट भए भने जोन सिम्पसन पनि १४ रनमा नै पेभेलियन फर्किए । यस्तै भिम सार्की र जर्ज स्कट पनि नौ–नौ रनमा आउट भए । चितवनका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए । कमलसिंह ऐरीले १३ रन बनाए ।
बलिङमा मोहम्मद नाभिदले तीन तथा अभिनाश बोहराले दुई विकेट लिए ।
जवाफमा भैरहवाले १८ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भैरहवाले २० रन बनाउँदा उसका तीन खेलाडी आउट भए । उसका लागि मोहम्मद नाभिद र रविइन्दर सिंह मात्र चार–चार रनमा आउट भए भने रायन टेन डोइच्टेले खाता खोल्न सकेनन् । त्यसपछि प्रदिप ऐरी र कप्तान शरद भेषावकरबीच चौथो विकेटका लागि ५६ रनको साझेदारी भएपछि टिम केही सम्हालिएको थियो । तर ऐरी ४२ रनमा आउट हुँदा उसले ७६ रनमा चौथो विकेट गुमायो । त्यसपछि उसले अरु दुई विकेट सस्तैमा गुमायो । शरद २९ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए ।
अन्तिममा कुशल मल्ल र रोहिकुमार पौडेलले बलियो साझेदारी गर्दै टिमलाई जित दिलाए । रोहितले २४ तथा कुशलले २७ रन बनाए । अब फाइनल प्रवेशका लागि भैरहवाले काठमाडौंसँग खेल्नेछ ।


