काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्रीस्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
हलचोक स्थित एपीएफ मैदानमा आज भएको दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो । डिफेन्डर रन्जित धिमालले खेलको १२ औ मिनेटमा पेनाल्टीमा गरेको गोल थ्रीस्टारलाई जितका लागि पर्याप्त बन्यो ।
थ्रीस्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अन्जन देबकोटाले हातले रोकेपछि ललितपुरे क्लबले पेनाल्टीको अवसर पाएको थियो ।
३४ औं मिनेटमा थ्री स्टारका अल्बर्टको शसक्त प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाऊ गरेका थिए । ८२ औ मिनेटमा मछिन्द्रका अनिल गुरुङको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
जितसंगै थ्री स्टारले ८ खेलबाट २१ अंकजोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र ३ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
यसअघि आज भएको पहिलो खेलमा च्यासल युथक्लबले ‘ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ । शनिबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २–० ले पराजित गर्दै च्यासलले तीन अंकजोडेको हो ।
जितसंगै च्यासलले ८ खेलबाट १३ अंकजोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


