काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले आफ्नो खेलाडी करियरबाट बिदा लिएका छन् । उनको करियरको अन्तिम प्रतियोगिता सुखद नभए पनि शक्तिले पूर्व घोषणा गरेअनुसार नै ईपीएललाइै आफ्नो करियरको अन्तिम प्रतियोगिता बनाए ।
ईपीएलमा उनको टिम पोखरा राइनोज लिग चरणबाट नै बाहिरिएपछि उनको अन्तिम प्रतियोगिता जित्ने धोको पूरा हुन सकेन । झण्डै १८ वर्षको क्रिकेट करियरमा शक्तिले नेपाललाई डिभिजन फाइभदेखि डिभिजन टूसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले ।
नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृखंला करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाएका शक्तिले नेपालमा नै कुनै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने योजना बनाएका थिए । तर नेपालमा तत्काल कुनै अन्तर्राष्ट्रिय खेल हुने नदेखिएपछि शक्तिले ईपीएललाई नै अन्तिम प्रतियोगिता बनाउने निर्णय गरेका हुन् ।


