नयाँ प्रशिक्षक छान्ने जिम्मा कपिल देवलार्इ


एजेन्सी – महिला टी–२० विश्वकपमा इंग्ल्याण्डसँग भारत पराजित भएपछि मिताली राजका कारण सुरु भएको विवाद अझै साम्य भएको छैन ।

सेमिफाइनलमा प्रशिक्षक रमेश पवारले टिममा नराखेपछि उनले आफ्नो करियर बिगार्न खोजेको र प्रशिक्षककै कारण भारत पराजित भएको अभिव्यक्ति दिएकी थिइन् । विवादकाबीच गएको डिसेम्बर १ तारिखदेखि प्रशिक्षक पवारको करार अवधि सकिएको थियो ।

विश्वकप अघि पवारकै करार थप गर्ने योजना बनाएको बीसीसीआईले पछिल्ला दिनका विवादले करार थप गर्न सकेन । करार थप नभएपछि अहिले भारतीय महिला टिमका लागि नयाँ प्रशिक्षक खोज्नु परेको छ । नयाँ प्रशिक्षक छान्नका लागि २० डिसेम्बरमा अन्तर्वार्ताको मिति तोकिएको छ ।

अन्तर्वार्ता लिने जिम्मेवारीका लागि पूर्व क्रिकेटर कपिल देबको नेतृत्वमा तीन सदस्यीय समिति नै बनाइएको छ । समितिमा अंशुमन गायकवाड र पूर्व महिला खेलाडी शान्ता रंगास्वामी रहेका छन् ।

मिताली राजले प्रशिक्षक पवारलाई हटाउन अपिल गर्दै बीसीसीआईमा पत्र लेखेपछि कप्तान हरमनप्रीत र उपकप्तान स्मृति मान्धानाले उनलाई प्रशिक्षक बनाउन पत्र लेखेका थिए ।

पत्रमा भारतीय पुरुष टिमको कुरा उल्लेख गर्दै कप्तान विराट कोहलीको आग्रहमा अनिल कुम्बलेलाई हटाएर रवि शास्त्रीलाई प्रशिक्षक बनाउन सकिन्छ भने हरमनप्रीतको आग्रहमा पवारलाई किन प्रशिक्षक नबनाउने उल्लेख गरिएको छ ।


प्रकाशित : २०७५ मंसिर २७, बिहीबार २०:४५ गते

धेरै पढिएको

ताजा समाचार