काठमाडौँ – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ललितपुर प्याट्रियट्सले लगातार दोस्रो जित निकालेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सोमबार पोखरा राइनोजलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।एक सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५।५ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
ललितपुरलाई जिताउन दुई भारतीय खेलाडी गौरव तमोर र जयकिशन कोल्सावालाले १ सय २९ रनको साझेदारी गरेका थिए।इपीएलको इतिहासमा सबैभन्दा ठूलो साझेदारी गर्ने क्रममा कोल्सावालाले ३८ बल खेल्दै ५१ रन बनाए भने गौरव तमोर ८२ रन बनाएर आउट भए।उनले ४१ बल खेलेका तमोरले चार चौका र आठ छक्का प्रहार गर्दै टिमलाई जित नजिक पुर्याए। त्यसपछि आएका सोनु तामाङले ११ रन बनाउँदा सन्नी पटेलले बिस्फोटक ब्याटिङ गर्दै ८ बलमा २० रन बनाए।
पोखराका लागि पउन कगलिनले १-१ विकेट लिएका थिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो।पोखराले उत्कृष्ट ओपनिङ गर्दै पहिलो विकेटका लागि रिचार्ड लेभी र केली कोट्जेरले ९७ रनको साझेदारी गरेका थिए।लेभीले विस्फोटक पारी खेल्दै ८४ रन बनाएर आउट हुँदा सुनिल धमला १० तथा केली १९ रनमा पेभेलियन फर्किए।पउल कोउग्लिन १३ रनमा आउट भएपछि आएका विनोद भण्डारीले अविजीत ३४ रन बनाएका थिए। बलिङ तर्फ ललितपुरका पवन सरार्फले तीन विकेट लिए ।
यो सँगै जारी लिगमा लगातार तीन खेल खेलेको ललितपुर २ जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजित पोखराले लगातार दोस्रो हार व्यहोरेको छ।


