मनाङ मर्स्याङ्दी सातौं खेलसम्म लगातार विजयी


काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातौ खेलसम्म पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा मनाङले मछिन्द्र क्लबलाई १(० गोलको कठिन जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । मनाङको जितमा अफिज ओलावालेले निर्णायक गोल गरे । पहिलो हाफसम्म मनाङलाई बराबरीमा रोकेको मछिन्द्रले खेलको अन्तिम समयतिर गोल खान पुग्यो । ५९ औं मिनेटमा दोणा थापाको स्थानमा मैदानमा प्रवेश गरेका ओलावालेले खेलको ८५ औं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका हुन् ।

जितसँगै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरीलाई तीनमा पुर्‍याएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको सात खेलबाट शतप्रतिशत नतिजासहित २१ अंक भएको छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको समान सात खेलबाट १८ अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको संकटाको पनि सात खेलबाट १८ अंक रहेको छ । चौथो स्थानमा रहेको आर्मीले ७ खेलबाट १७ अंक जोडेको छ ।


प्रकाशित : २०७५ मंसिर २४, सोमबार १९:५२ गते

धेरै पढिएको

ताजा समाचार