‘वल्डकप ट्रफी’सहित पाँच जनाको टोली नेपालमा


काठमाडौं । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज नेपाल ल्याइएको छ ।विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि आज अपराह्न नेपाल आइपुगेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डको मुख्याल आयरल्याण्डबाट नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

ट्रफी बिहीबार बिहान सगरमाथाको आधारशिविर लगेर पहिलो प्रदर्शन गरिनेछ । त्यसैगरी मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरू स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ ।

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कूल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २०देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित : २०७५ मंसिर १९, बुधबार २०:२७ गते

धेरै पढिएको

ताजा समाचार