काठमाडौँ : राजधानीस्थित भारतीय दूतावास परिसरमा विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम मंगलबार साँझ सम्पन्न भएको छ ।
सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज र रेडिसन होटेलसँगको सहकार्यमा यो सांगीतिक कार्यक्रम गरिएको हो । यो सांगीतिक कार्यक्रममा नेपालस्थित राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी र विद्यार्थीसहित करिब एक हजार जना उपस्थित थिए ।
काार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।
उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यो सांगीतिक प्रस्तुतिलाई अविस्मरणीय बनाएको भारतीय दूतावासले जनाएको छ । उनले आफ्नो कलामार्फत् आधुनिक तथा शास्त्रीय तबला बादनबाट दर्शकलाई मन्त्रमुग्ध बनाए ।
भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउनुका साथै दुवै देशको साझा सांगीतिक साइनोलाई बचाइ राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षपछि गरिएको दूतावासले जानकारी दिएको छ ।
-अन्नपूर्ण पोस्ट


