शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् ।
आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ ।
आज ‘जावलाखेल युथ क्लब’ र ‘सङ्कटा’बीच पहिलो तथा ‘फ्रेन्ड्स क्लब’ र ‘सशस्त्र प्रहरीको एपिएफ’बीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ! उसैगरी आज नै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोक स्थित सशस्त्रको मैदानमा तेस्रो खेल हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ ।
लिग चरणको दोस्रो खेलमा उत्रिँदै गर्दा सङ्कटा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । उसैगरी जावलाखेल भने पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीमा उमेर समूहका खेलाडीको बाहुल्यता छ ।
पहिलो खेलमा सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो ।
आजै दोस्रो खेलमा फ्रेन्डस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । फ्रेन्डसले पहिलो खेलमा थ्री स्टारसँग २–१ को पराजय बेहोरेको थियो । एपिएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
आजै एपिएफ मैदानमा हिमालयन शेर्पा र सरस्वती युवा क्लबले खेल्नेछन् । पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । सरस्वती भने सङ्कटासँग पराजित भएको थियो ।
काठमाडौँ, ३ मङ्सिर (रासस)


