गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने “नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ”, उनले भने ।
मन्त्री बादलले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन अब सुरु हुने बताए । लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उनले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका हुन् ।
अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई सहि हिसाबले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने संकेत मन्त्री बादलले दिए। “राष्ट्रिय अखण्डतामाथि असर पर्ने कुराहरु छन् । अङ्गीकृत नागरिकता वितरणमा ध्यान दिइएन भने राष्ट्रियतामाथि नै खतरा हुन्छ”, उनले भने ।
गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने बताए । ‘बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन् । जन्मको आधारमा नागरिकता त्यो खारेज गरिएको छ’ उनले भने अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई संशोधन आवश्यक छ ।
समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीसंग धारणा मागेका थिए । सांसद ‘प्रेम सुवाल’ले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरे ।
२ मंसिर, काठमाडौं ।


