काठमाडौं
नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रीकुमारी रथयात्राको साइत सार्वजनिक गरेको छ । सो साइत अनुसार असोज ८ गते जैशिदेवलतर्फ रथयात्रा र ९ गते नरदेवीतर्फ रथयात्रा हुनेछ । किलागलतर्फको नानिचा यात्रा भने असोज १२ गते परेको छ । भोटाहिटीमा रहेको इन्द्रजात्राको लिङ्गो असोज १ गते बिहान १०ः१७ बजेको साइतमा नगरप्रवेश गराइ हनुमानढोका दरवारतर्फ ल्याउनु पर्नेछ । नानिचा यात्रा सकिएपछिको राति १०ः२७ बजे जात्रा समापन हुन्छ ।
इन्द्रध्वजोत्थान भने असोज ५ गते ८ः०५ बजे तोकिएको छ । जात्राको क्रममा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई वसन्तपुर दरवार परिसरमा ल्याइएको छ । श्रीकुमारीघरमा यी देवताका लागि आवश्यक १०८ प्रकारका मिठाई बनाउने कार्य सुरु भएको छ ।
प्राप्त जानकारी अनुसार भक्तपुरका भजगोविन्द प्रजापतिको अगुवाइमा हलवाईको जमात मिठाई तयार गर्न लागेका छन् । श्रीकुमारीघरमा जात्राका सबै आवश्यक कार्य गर्न खटाइनु भएका सुरेन्द्र अमात्यका अनुसार तोकिएको साइत अनुसार नै इन्द्रजात्राको सबै काम अगाडि बढाइने छ ।
साइत पर्चालाई परम्परा अनुसार हनुमानढोका दरवारको ढोकामा जानकारीका लागि टाँस गरिएको छ । हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी र महाकाली नाच भक्तपुरको रामचन्द्र र महाकाली नाचलाई जात्राको तालिकाको विषयमा जानकारी गराइसकिएको छ । यो पल्ट काठमाडौं महानगरपालिकाले २२ राष्ट्रका महानगरप्रमुखलाई जात्रा अवलोकनका लागि आमन्त्रण गरेको यस अघि नै सार्वजनिक भइसकेको छ ।
गोरखापत्रबाट


