एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक


काठमाडौं – एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ ।

इण्डोनेसियामा जारी १८ औं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री प्रस्पर्धाको अन्तिम चरणको खेलमा नेपालले बुधबार रजत हात पारेको हो । पहिलो पटक एशियाली खेलकूद (एसियाड) मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले बुधबार नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो ।

यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

थाइल्याण्डको बैंककमा १९९८ मा तेक्वान्दो खेलाडी राजभण्डारीले जितेको रजतपछि अर्को रजत पदक जित्न नेपाललाई २० वर्ष कुर्नुपर्यो । नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेका छैन ।

विमल अधिकारीले नेतृत्व गरेको नेपाली प्याराग्लाइडिङ टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । क्रस कन्ट्री इभेन्ट इण्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो ।

नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अङ्कले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कूल ११ हजार ३६४ अङ्क ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अङ्क प्राप्त गरेको हो ।

जारी प्रतियोगितामा नेपाल पदक जित्ने ३७ औँ मुलुकसमेत भएको छ । यसअघि जारी प्रतियोगितामा ३६ मुलुकले पदक जितिसकेका छन् । एशियाडको १८औँ संस्करणसम्म आएपुग्दा नेपालले कूल दुई रजत र २२ कांस्य पदक जितेको छ ।

‘पदक जितेकामा धेरै खुशी लागेको छ,’ नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले भने, ‘पहिलो प्रयासमै हामी पदक जित्न सफल भयौं ।’

नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले भने, ‘१८ औं एसियाडमा नेपालको पदकको खडेरी तोड्न सफल भएका छौँ । यो नेपालीका लागि गौरवको कुरा हो ।’ एसियाली खेलकूदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेलसमेत भएको हो । योसँग नेपालले एशियाली खेलकूदमा दुई रजतसहित २४ औँ पदक जितेको छ ।

पदकको आशा गरिएको तेक्वान्दो, कराते, बक्सिङजस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकूद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।


प्रकाशित : २०७५ भाद्र २८, बिहीबार १५:२५ गते

धेरै पढिएको

ताजा समाचार