काठमाडौं – निर्मला पन्तको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिबाट सोमबार राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । केसी समितिमा फिर्ता भएसँगै निर्मला पन्त हत्या प्रक्रिया झन् रहस्यपूर्ण बनेको छ ।
ज्यानकै सुरक्षा नहुने भो भन्दै छानविन समितिबाट राजीनामा दिएको ४८ घण्टापछि बुधबार गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरेर केसीले आफू समितिमा फर्किएको बताएका छन् ।
४८ घण्टाको वीचमा केसीले गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानविन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए ।
सोमबार राजीनामा दिनुअघि पनि गृहमन्त्रीलाई भेट्ने प्रयास केसीले गरेका थिए । सम्भव नभएपछि पत्रकार सम्मेलन नै गरेर राजीनामा घोषणा गरेका हुन् । निर्मलाले न्याय नपाउने देखेपछि राजीनामा दिनुपरेको केसीले बताउँदै आएका थिए ।
बुधबार भएको छलफलमा आफ्नो र गृहमन्त्रीको धारणा एउटै पाइएकाले समितिमा बसेर काम गर्न सहमत भएको केसीले बताए ।